आहतमा राहत अक्षय कोष स्थापनार्थ संस्थागत च्यारिटी फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न
जापान। इबाराकी नेपाली समाजद्वारा आयोजित "आहतमा राहत अक्षय कोष स्थापनार्थ संस्थागत च्यारिटी फुटसल प्रतियोगिता" सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा नेपालका लागि जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री हरिहर कान्त पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै NRNA Japan, NRNA ICC लगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा NRNA Japan, NRNA Chiba, जनसम्पर्क समिति, इबाराकी नेपाली समाज लगायत विभिन्न संस्थागत टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलपछि सम्पन्न फाइनलमा आयोजक इबाराकी नेपाली समाजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै NRNA Japan ले उपाधि जित्न सफल भएको हो।
विश्वभर फुटबलप्रतिको उत्साह बढिरहेको वर्तमान समयमा आयोजना गरिएको यस प्रतियोगिताले जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भ्रातृत्व, एकता तथा सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। साथै, खेल संस्कृतिको विकाससँगै सामाजिक सेवाका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यलाई पनि यस प्रतियोगिताले थप बल प्रदान गरेको छ।
कार्यक्रमको सफल आयोजनाका लागि इबाराकी नेपाली समाजप्रति सहभागी संस्था तथा उपस्थित सबैले धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक, खेलकुद तथा सामुदायिक कार्यक्रमहरूमा सहकार्य गर्दै नेपाली समुदायलाई अझ सशक्त र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
